नेपाल फिसरिज सोसाईटीको विधान
२०५२
प्रस्तावना
नेपालको विभिन्न भागमा छरिएर रहेका मत्स्य प्राविधिक र मत्स्य व्यवसायीलाई एक सुत्रमा बाँधी मत्स्य पेशा एवं व्यवसायको स्तर उकास्दै लोकतान्त्रिक नेपालको आर्थिक समृद्धि गर्ने उद्देश्यले नेपाल फिसरिज सोसाईटीको स्थापना गरिएको छ । यस संस्थाको राजनीतिसंग कुनै सम्बन्ध रहने छैन ।
परिच्छेद १
प्रारम्भिक
संक्षिप्त नाम र प्रारम्भः
क) यस सोसाईटीको नाम “नेपाल मत्स्य समिति” रहने छ । अग्रेजीमा यसलाई "Nepal Fisheries Society" भनिने छ । यस पछि यस विधानमा यसलाई “सोसाईटी” भनिने छ।
ख) यो बिधान स्थानीय अधिकारीबाट स्वीकृति पाएको मितिदेखि लागु हुनेछ ।
ग) यस सोसाईटीको कार्यालय काठमाडौंमा रहने छ ।
परिभाषाः
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस बिधानमा उल्लेख भएका निम्न शव्दहरु छन्:
क) सोसाईटी भन्नाले नेपाल फिसरिज सोसाईटी जनाउने छ।
ख) का. का. स. भन्नाले फिसरिज सोसाईटीका सदस्यहरुबाट चुनिएका अधिकारीहरुको कार्यकारिणी सभालाई जनाउने छ।
ग) बिधान भन्नाले नेपाल फिसरिज सोसाईटीको विधानलाई जनाउने छ।
घ) सदस्य भन्नाले नेपाल फिसरिज सोसाईटीको सदस्यहरुलाई जनाउने छ।
ङ) सह–सदस्य भन्नाले नेपाल फिसरिज सोसाईटीकाको सह–सदस्यलाई जनाउने छ।
च) मत्स्य पेशा भन्नाले बिज्ञान बिषयमा स्नातक भएर मत्स्यसम्बन्धी अध्ययन, अध्यापन, अनुसन्धान तथा मत्स्य पालनमा संलग्न व्यवसायीहरुको पेशालाई जनाउने छ।
छ) मत्स्य व्यवसाय भन्नाले नेपाल सरकारमा दर्ता भएको मत्स्यसंग सम्बन्धित व्यवसायमा संलग्न व्यक्तिहरूलाई जनाउने छ।
नेपाल फिसरिज सोसाईटीको विधान
धारा १ सोसाईटीको नामः
यस सोसाईटीको नाम “नेपाल फिसरिज सोसाईटी / नेपाल मत्स्य समाज” रहने छ
धारा २ सोसाईटीको कार्यालयः
यस सोसाईटीको कार्यालय काठमाडौंमा रहने छ ।
धारा ३ सोसाईटीको उद्देश्यः
प्रचलित ऐन कानून तथा नेपाल सरकारको नीति निर्देशनको अधीनमा रही सम्बन्धित निकायसँग समन्वय गरि कार्यक्रम सञ्चालन गर्ने गरि निम्नलिखित उद्येश्य हुनेछ।
यस सोसाईटकिो माध्यमबाट नेपाल अधिराज्य भरमा मत्स्य प्राविधिक र मत्स्य व्यवसायीलाई एक सुत्रमा बाँधी मत्स्य पेशा एवं व्यवसायको स्तर उकास्दै लैजाने यस सोसाईटीको मुख्य ध्येय हुनेछ । उपरोक्त ध्येयको पूर्तिका लागि निम्नानुसारको उद्देश्यहरु रहने छन् ।
क) मत्स्य बैज्ञानिक तथा प्राविकहरुका बीच मत्स्य विकास एवं जलचरहरुको संरक्षण एवं संबिधानको लागि प्रभावकारी अन्तरक्रिया (Effective interaction) र सहयोग (Cooperation) अभिबृद्धि गर्नुका साधै मत्स्य व्यवसायीहरुको व्यवसायिक दक्षता (Professionalism) को विकास गर्ने ।
ख) नेपालमा रहेका जलाशयहरुको उपयोग तथा जलचरहरुको संरक्षण एवं सम्बर्धन सम्बन्धी जन चेतना (Mass awareness) जगाउने र फैलाउने, साथै नेपालमा अवस्थित जलश्रोतको विकास कार्यको फलस्वरुप जलचर जैविक (Diversity of Aquatic Life) र जलवायु परिवर्तन (Climate Change) माथि पर्ने प्रभाव न्यूनीकरण गर्न नेपाल सरकार एवं सबै सम्बद्ध निकायको ध्यानाकर्षण गरि आवश्यक सुझाव प्रदान गर्ने।
ग) जल तथा जलचर सम्बद्ध राष्ट्रिय र अंतर्राष्ट्रीय निकायहरुसँग निकटतम संबंध स्थापना गर्ने र नेपालमा रहेका अन्य समान (मिल्दो जुल्दो) उद्देश्य भएका संघ/ संगठनसँग समेत सम्पर्क, सम्बद्धता र सहयोग (Affiliation and Cooperation) स्थापना गर्ने र समयानुकुल अन्य अन्तराष्ट्रिय फिसरिज सोसाईटीसंग समेत सम्बन्ध विस्तार गर्दै जाने।
घ) मत्स्य वैज्ञानिक तथा व्यवसायीहरुलाई उनीहरुको काम एवं योगदानको आधारमा उचित कदर गर्ने ।
ङ) नेपाल सरकार र स्वदेशी तथा विदेशी व्यक्ति संघ सस्था ईत्यादिलाई आवश्यक परेमा मत्स्य विकास (Fisheries and Aquaculture Development) जलीय वातावरण (Aquatic Environment) एवं जलचर संरक्षण र उपयोग (Aquatic Life Protection and Utilization) सम्बन्धी परामर्श सेवा उपलब्ध गराउने ।
च) मत्स्य विकास, जलचर विविधता, मत्स्य र जलीय वातावरण (Aquatic Environmant) सम्बन्धी राष्ट्रिय एवं अंतर्राष्ट्रीय स्तरको वैज्ञानिक कार्यशाला गोष्ठी सेमिनार तथा वैज्ञानिक प्रवचनहरुको आयोजना गर्ने ।
छ) जलीय वाताबरण स्वच्छ राख्न र दुषित हुनबाट बचाउन प्राविधिक सेवा उपलब्ध गराउने ।
ज) जलचर विविधताको अध्ययन गर्ने, संरक्षण तर्फ आवश्यक परामर्श दिने ।
धारा ४ परिधिः
क) राजनीतिसंग कुनै सम्बन्ध रहने छैन ।
ख) यस सोसाईटसको कार्यक्षेत्र मुख्य रूपले जल, जलचर र जलीय वातावरण सम्बन्धि विषयहरूमा केन्द्रित रहने छ। यसको विकास र संरक्षण र सम्बर्धन सम्बन्धी अनुसन्धान तथा सामाजिक र शैक्षिक कार्य तर्फ यसले जोड दिने छ ।
ग) आर्थिक स्थितिले भ्याए सम्म सोसाईटीले मत्स्य विकास कार्यको निमित्त शिक्षण पुरस्कार, Fisheries, Workshop/ Seminar/ Symposium आदिमा माग लिन जान यसका सदस्य/ सहसदस्य विशेषलाई आर्थिक सहयोग एवं छात्रबृति प्रदान गर्नेछ।
घ) यस सोसाईटीको कार्यक्षेत्र भित्र पर्ने विषयमा विभिन्न संघ संस्थाद्वारा आव्हान गरिने आयोजनाहरूको लागि आफैं वा आफ्ना सदस्यहरू मार्फत प्रस्ताव पेश गरि कार्यान्वयन समेत गर्न सक्ने छ।
धारा ५ सदस्यः
साधारण सदस्यः विज्ञानमा स्नातकको उपाधि प्राप्त गरी मत्स्य सम्बन्धी कार्यमा हाल वा पहिले संलग्न रहेका इच्छुक व्यक्तिहरु वा मूल विषय फिसरिज लिई प्राणी विज्ञानमा स्नातकोत्तर वा बि.एस्सी. फिसरिज वा फिसरिज एैच्छिक विषय लिई वि. एस्सी. एजी. वा वि. एफ. एससी. वा मत्स्य विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेका विज्ञहरुले प्रवेश शुल्क रु. १०० र वार्षिक शुल्क रु. २०० तिरी यस सोसाईटीको साधारण सदस्यता प्राप्त गर्न सक्ने छन् । वार्षिक शुल्क श्रावण १ गते देखि असार मसान्त सम्मको अवधिको लागि मानिने छ।
सह–सदस्यः मत्स्य विषय लिई कृषि बिषयमा स्नातक, विज्ञानमा स्नातकोत्तर वा विद्यावरिधिमा अध्ययनरत विद्यार्थीहरु, मत्स्य विकासमा कम्तीमा ५ वर्ष सम्म सेवारत वा सेवा गरेका अधिकृत तथा मत्स्य प्राविधिकहरु तथा आफ्नो मत्स्य फार्म रजिष्टर्ड गरी मत्स्य व्यवसायमा ५ वर्ष सम्म संलग्न व्यवसायीहरुले यस सोसाईटीको सह–सदस्यता प्राप्त गर्न सक्ने छन् । यस्ता सदस्यहरुले कार्यकारिणी सभाको निमित्त चुनावमा उम्मेदवार हुन सक्ने छैनन् तर भोट दिने अधिकार रहनेछ । यस्तो सदस्यहरुले सोसाईटीबाट दिईने अन्य सबै सुविधाहरुको उपभोग गर्न पाउने छन् । यस्तो सदस्यताको लागि प्रवेश शुलक रु. ५० र बार्षिक शुल्क रु. १०० रहने छ।
आजीवन सदस्यः साधारण सदस्यता प्राप्त गर्न योग्यता पुगेका महानुभावहरु आजीवन सदस्य बन्न सक्नु हनेछ । आजीवन सदस्य बन्ने महानुभावहरुले रु. ५००० एक मुष्ट वा पाँच किस्ता बन्दीमा पाँच बर्ष भित्र दिनु पर्नेछ । किस्ता बन्दी दरखास्तको नमुना अनुसूची (४) बमोजिम हुने छ । विदेशी नागरिकले एक मुष्ठ यू. एस. डलर १०० वा सो बराबरको नेपाली रुपैंयामा भूक्तानी गर्नु पर्ने छ ।
मानार्थ सदस्यः मत्स्य विकास जलचर विविधता तथा जलीय वातावरण (Aquatic Environment) मा विशेष योगदान पुर्याएका विशिष्ट वैज्ञानिक तथा उल्लेखित विषय वस्तुमा नीति निर्देशन तहमा रही प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा योगदान पुर्याएका लब्ध प्रतिष्ठित व्यक्तिहरुलाई सोसाईटीको मानार्थ सदस्यता प्रदान गर्न सकिने छ । यस प्रकारको सदस्यता प्रदान गर्नको लागि कम्तीमा तीन जना सोसाईटीका साधारण सदस्यहरुले अनुसूची (५) मा उल्लेखित सिफारिस फाराम भरी का. का. स. मा पेश गर्नु पर्ने छ । यस्ता सिफारिश फारामको का. का. स.ले मूल्यांकन गरी साधारण सभाबाट अनुमोदन गराई सदस्यता प्रदान गरिने छ । यस्तो सदस्यता एक वर्षमा बढीमा १ जनालाई मात्र प्रदान गरिने छ।
सदस्यता शुल्कः
सोसाईटीको सदस्यता शुल्क का. का. स. बाट गठन गरेको उप–समितिबाट मूल्यांकन गरी साधारण सभाबाट अनुमोदन गराई समयानुकुल हेरफेर गरिने छ।
धारा ६ राष्ट्रिय कार्यकारिणी सभा:
क) यस सोसाईटकिो निम्न लिखित अधिकारी रहेको राष्ट्रिय कार्यकारिणी सभा हुनेछ ।
१. अध्यक्ष १
२. उपाध्यक्ष १
३. महासचिव १
४. सचिव १
५. कोषाध्यक्ष १
६. सदस्य ६ (४+२)
ख) प्रत्येक कार्यकारिणी सभा तीन वर्षको अवधिको लागि चुनिने छ र तीन बर्ष सम्म आफ्नो पदमा बहाल रहनेछन्। कार्यकारिणी सभाका प्रत्येक अधिकारी दुई पटक सम्म लगातार सोही पदमा चुनिएर आउन सक्ने छन्। तेश्रो पटकको लागि सोही पदमा चुनावमा उठ्न पाउने छैनन्। तर एक अवधि बीचमा छाडी पुनः सोही पदमा चुनाव लड्न पाउने छन्। चुनाव सम्पन्न गराउने अधिकारीले राष्ट्रिय कार्यकारिणी सभाको चुनाव लड्न पाउने छैन।
कार्यकारिणी सभाको अधिकारहिरुको काम र कर्तव्य:
अध्यक्ष
१. अध्यक्ष सोसाईटीको प्रमुख व्यक्ति मानिने छ।
२. सोसाईटीको सबै सभाहरुको अध्यक्षता अध्यक्षले गर्नेछ।
३. सोसाईटीको सबै कार्य विधिमा अध्यक्षले नियन्त्रण गर्नेछ।
४. सोसाईटीको नियम उपनियमको व्याख्या गर्दा वा का. का. स. को अरु कृयाकलापकमा मत दिन पाउने छैन तर राय बाझिएमा निर्णयात्मक मत अध्यक्षको हुनेछ।
५. अत्यावश्यक भएमा अध्यक्षले का. का. स.को वैठक अल्पावधिको समय भित्रै सूचना दिई सात दिन भित्र बोलाउन सक्नेछ।
उपाध्यक्ष
१. अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले अध्यक्षको कार्यभार सम्हाल्ने छ।
२. उपाध्यक्षले अध्यक्षलाई सोसाईटीको गतिविधि संचालन गर्नमा सहयोग पुर्याउने छ।
महासचिव
१. सोसाईटीको दैनिक कार्यको सबै अभिभारा महासचिवमा निहित हुनेछ।
२. सोसाईटीको सारा माल सामान महासचिवको जिम्मामा रहने छ।
३. सोसाईटीको कारोबार सम्बन्धी सारा लेखा पढी गर्ने कार्य महासचिवको हुनेछ।
४. सम्मेलन, सेमिनार, सिम्पोजियम तथा विभिन्न शैक्षिक गोष्ठिको आयोजना गर्ने र प्रवन्ध मिलाउने कार्य महासचिवको हुने छ।
५. कार्यकारिणी सभामा छलफल भएका विषयहरुको संक्षिप्त विवरण राख्ने र सो का. का. स. सदस्यहरुको दस्तखत गराउने काम महासचिवको हुनेछ।
६. महासचिव सबै उपसमितिको पदेन सदस्य रहने छ।
७. सोसाईटीका सदस्यहरुको लागत रेकर्ड तथा दैनिक कारोवारहरु सम्बन्धित पत्र व्यवहार आवश्यक रेकर्ड राख्ने काम महासचिवको हुनेछ।
८. अकस्मात कुनै खर्च नगरी नहुने पर्न आएमा धारा १४ को उपधारा (३) वमोजिम महासचिवले खर्च गर्न सक्नेछ। औपचारिक समर्थनको लागि कार्यकारिणी सभामा पेश गर्नु पर्नेछ।
सचिव
१. महासचिवलाई सबै कार्यमा मद्दत गर्ने र महासचिवले सूम्पेको कार्यहरूको अभिभार वहन गरि कार्य सम्पादन गर्नेछ।
२. महासचिवको अनुपस्थितिमा सारा कार्यभार सचिवले सम्हालने छ।
कोषाध्यक्ष
१. सोसाईटीको सारा आय र व्ययको हिसाब राख्ने छ।
२. सोसाईटीको नाममा उठेको सारा नगद सोसाईटीको नाममा बैंकमा खाता संचालन गर्नेछ।
३. का. का. स. बाट मनोनित लेखा परिक्षकद्वारा व्ययको हिसाबको जाँच गराई पास गराउने छ।
४. बार्षिक आय व्यय तथा हिसाब र सोसाईटीको आर्थिक स्थितिको पुरा विवरण सहित हिसाब र लेखा परिक्षकद्वारा जाँच गरिइएको व्यहोरा क. का. स.मा पेश गर्ने छ।
५. नयाँ र पुराना सदस्यहरुको सदस्यता शुल्क तथा व्यक्तिगत वा संस्थागत अनुदान पनि असुल उपर गर्नेछ।
६. महासचिवको लिखित आदेशानुसार बिल भर्पाईहरुको भूक्तानी दिई हिसाब राख्ने छ।
का. का. स.का सदस्य
का. का. स. को सदस्यहरुको मुख्य काम सोसाईटीको चौतर्फी विकासको लागि का. का. का. स.का बैठक र अन्य कार्यमा नियमित रुपले उपस्थित भई क्रियाशिल रुपमा भाग लिने छन्। साथै का. का. स. को निर्णय बमोजिम का. का. स.का सदस्यहरुलाई यदी कुनै कार्य सुम्पिईन्छ भने उक्त कार्यको अभिभारा वहन गर्नेछ।
सल्लाहकार
यस सोसाईटीको हक हिट प्रवर्द्धनको लागि साधारण सभा वा का. का. स. को बैठकबाट समेत सोसाईटीलाई आवश्यक पर्ने नीति, निर्देशन, सल्लाह सुझाव, आदि प्रदान गर्न सोसाईटीका साधारण सदस्यहरु मध्येबाट ख्याती प्राप्त विशिष्ट विज्ञहरु बढीमा ५ जवानलाई प्रमुख सल्लाहकार एवं सल्लाहकार नियूक्ति गराउन सकिने छ। निवर्तमान अध्यक्ष पड़ें सलाहकार सदस्य हुनेछ। सल्लाहकारहरुलाई का. का. स.को वैठकमा समेत आमन्त्रण गराउन सकिने छ।
धारा ७ लेखा परिक्षकको नियूक्तिः
क) का. का. स. बाट वार्षिक आय व्ययको हिसाबको परिक्षण का. का. स. ले सोसाईटीको कुनै सदस्य तर का. का. स.मा नभएका लाई वा आवश्यक परेमा लेखा परिक्षकबाट गराउने छ ।
ख) सोसाईटीको आर्थिक वर्ष श्रावण देखि असार मसान्त सम्म रहने छ र असोज मसान्त सम्म गत वर्षको लेखा परिक्षण गराई सक्नु पर्ने छ।
धारा ८ कार्यकारिणी सभाको अधिकार र कर्तब्यः
क) कार्यकारिणी सभाले सोसाईटीको सारा प्रशासन कार्य सम्पादन गर्ने गराउने छ।
ख) आवश्यकता अनुसार उप समितिहरु बनाउन सक्ने छ।
ग) वैतनिक कर्मचारीहरुको नियूक्ति वा खारेजी गर्न सक्ने छ।
घ) सोसाईटीलाई आवश्यक भएका माल सामानहरुको खरिद बिक्री गर्न सक्ने छ र यसको अभिभारा महासचिव र कोषाध्यक्षलाई हुने छ।
ङ) सोसाईटीको विधानसंग नबाझिने गरी सोसाईटीको भलाई हुने कृयाकलाप सम्पादन गर्न आवश्यकताअनुसार नियम र उपनियम बनाई कार्य सम्पदन गर्न सक्नेछ ।
च) सदस्यता प्राप्तीको निमित्त निवेदन उपर विचार, सोसाईटीको इज्जत तथा मर्यादा भंग हुने काम गरेमा उचित कारवाही गर्न सक्ने छ । अनुसासन हीनताको बारे कारवाही गर्दा का. का. स. को दुई तिहाई मत मात्र निर्णय हुन सक्ने छ । यस्ता कामको विवरण तथा स्पष्टिकरण साधारण सभामा हुने प्रतिवेदनमा विशेष शीर्षक दिई लेखिनु पर्दछ ।
छ) का. का. स को कुनै पनि अधिकारीबाट लिखित राजिनामा आएमा का. का. स. को बैठकमा छलफल गरी बहुमत प्राप्त भएमा स्वीकृत गर्न सक्ने छन्। सो को सूचना सोसाईटीको सबै सदस्यहरुलाई दिनु पर्नेछ।
ज) का. का. स सामुहिक रुपमा र का. का. स का कुनै पनि अधिकारी सोसाईटीको साधारण सभाप्रति उत्तरदायी हुने छ।
धारा ९ सोसाईटीको सभा:
क) साधारण सभा
सोसाईटकिो साधारण सभा प्रत्येक वर्षमा एक पटक बोलाईने छ । उक्त साधारण सभामा सोसाईटीद्वारा भएका विभिन्न गतिविधिमा छलफल गरिने छ । सोही साधारण सभामा का. का. स. ले गत साल भएको खर्च र आम्दानीको व्ययहोरा पेश गरी पारित गराउने छ। यस्ता सभा हुनु भन्दा एक महिना अगावै महासचिवले साधारण सभामा छलफल गरिने विषय तथा सभा हुने मिति, स्थान र समयको सूचना सोसाईटीका सदस्यहरुमा पठाईने छ।
ख) असाधारण सभा
यदी कुनै सोसाईटीका एक तिहाई सदस्यले लिखित माग गरेमा महा सचिवले अध्यक्षको मन्जुरी लिई सभामा छलफल गर्ने कार्यको सूचीको प्रति सात दिन अगावै हरेक सदस्य कहाँ पठाई असाधारण सभा बोलाउन सक्नेछ।
ग) कार्यकारिणी सभा
कार्यकारिणी सभाको कोरम सात जना मानिन्छ । कार्यकारिणी सभाको बैठक हरेक ३ महिनामा कमसेकम एक पटक बस्नु पर्नेछ। आवश्यक परेमा का. का. स. को बैठक पनि बस्न सक्ने छ।
धारा १० सभा हुने स्थान, समय र मितिः
क) का.का. स.को बैठक हुने मिति, स्थान र समय अध्यक्षसँग राय लिई महासचिवले तोक्ने छ।
ख) सोसाईटीको साधारण वा असाधारण सभा हुने मिति स्थानको निर्णय का. का.स. ले गर्नेछ।
धारा ११ सोसाईटीको आर्थिक क्षेत्र:
क) सोसाईटीको विधानमा उल्लेखित सबै किससिमको सदस्यताबाट प्राप्त हुने सदस्यता शुल्क।
ख) प्राप्त हुने सरकारी अनुदान।
ग) व्यक्ति वा परामर्श सेवा वापत नेपाल सरकार र स्वदेशी या विदेशी संघ सस्थाबाट प्राप्त हुने आम्दानी।
घ) विभिन्न दान/ चन्दाबाट तथा सम्मेलन, गोष्ठी वा कार्यशाला आदि बाट हुने आम्दानी।
ङ) सोसाईटीको प्रकाशन बिक्रीबाट हुने आम्दानी।
द्ध) सोसाईटीको पत्र पत्रिकामा प्रकाशित विज्ञापनबाट।
छ) सोसाईटीको सम्पत्ति नमासिने गरी सो बाट प्राप्त हुने रकम जस्तै भाडाहरु सोसाईटीको आर्थिक श्रोतहरु मानिने छन्।
धारा १२ कार्यकारिणी सभाको गतिविधिः
क)
१. का. का. स. को मुख्य कार्य सोसाईटीको कार्य परम्पराको वृद्धि र विकास गर्ने।
२. प्रत्येक तीन वर्षमा कमसेकम एक मत्स्य सम्मेलन/ Conference को आयोजना गर्ने।
३. स्थानीय वा विदेशी मत्स्य वैज्ञानिक तथा अन्य विद्धानहरूबाट बराबर शैक्षिक प्रवचन तथा गोष्ठीको आयोजना गर्ने।
४. सोसाईटीको सारा व्यहोरा सहितको विवेचना प्रकाशित गर्ने र हरेका सदस्यलाई उपलब्ध गराउने।
ख)
१. सोसाईटीको तत्वाधानमा मत्स्य सम्बन्धी प्राविधिक पुस्तक पत्र पत्रिका र प्रतिवेदनहरु प्रकाशन गर्ने।
२. प्रकाशन सम्बन्धी नियम, उपनियमहरु तयार पार्न एउटा छुट्टै उप समिति गठन गरिने छ। उपसमितिले प्रकाशन सम्बन्धी नियम उपनियमहरु तयार पारी सिफारिस गर्ने छ। उक्त सिफरिस माथि का. का. स. ले निर्णय दिने छ। पुस्तक, जर्नल, पत्रपत्रिका, प्रतिवेदन प्रकाशन गर्ने।
३. सोसाईटी अन्तरगत प्रकाशित हुने जर्नल र पत्र पत्रिका प्रकाशनार्थ छुट्टै प्रकाशन मण्डल रहने छ।
धारा १३ सोसाईटीको साधारण नियम र उपनियमहरू:
क) जाति, धर्म, लिंग तथा रंगको यस सोसाईटीमा भेदभाव गरिने छैन। हरेका सदस्यलाई समानता पूर्वक सोसाईटीबाट पाईने हक र सुविधा उपभोग गर्ने पुरा अधिकार हुने छ।
ख) सोसाईटीको जुनसुकै सदस्यले पनि सोसाईटीको सदस्यताबाट लिखित आवेदन लिई छाड्न सक्ने छ। तर सो गर्नु अगावै सोसाईटीको तिर्नु, बुझाउनु पर्ने कुरा सोसाईटीलाई बुझाई सक्नु पर्ने छ।
ग) सोसाईटीको सदस्यताको म्याद भुक्तान नहुदैं शुल्क तिरी सदस्यता नविकरण गराउनु पर्नेछ। अन्यथा सोसाईटीको सदस्यताबाट स्वतः खारेज हुने छ।
घ) सोसाईटीको हित विपरीतको कार्य गरेमा सोसाईटीको सदस्य बनेका प्रत्येक व्यक्तिलाई सोसाईटीको विधान नियम र उपनियमको अधिनमा का. का. स. ले सोसाईटीको सदस्यताबाट वन्चित गराउन सक्नेछ.।
ङ) का. का. स. मा राजिनामा अथवा अरू कुनै कारणबाट स्थान रिक्त हुन गएमा का. का. स. का अधिकारीबाट नै अध्यक्ष र महासचिवको राय लिई रिक्त स्थान पूर्ति गरिने छ। अध्यक्ष र महासचिवको स्थान रिक्त हुन आएमा क्रमशः उपाध्यक्ष र सहसचिवद्धारा पूर्ति गरिने छ। उपाध्यक्ष, कोषाध्यक्ष र सह सचिवको स्थान रिक्त हुन आएमा का. का. स. का सदस्यहरूद्धारा पूर्ति गरिने छन् र यस्ता सबै कार्यवाहकको हैसियतले कार्य संचालन गर्ने छन्।
च) का. का. स. का सदस्य तथा पदाधिकारीले कुनै लिखित सूचना नदिई लगातार तीन पटक सम्म उपस्थित नभएमा का. का. स. बाट स्वतः खारेज हुने छ।
छ) का. का. स. ले प्रस्तावको निर्णय भोटद्धारा गर्नेछ।
ज) का. का. स. द्वारा गठित विभिन्न उपसमितिले आफ्नो कृयाकलापको प्रतिवेदन लिखित रुपमा का. का. स.लाई दिने छ।
झ) सोसाईटीको वार्षिक कार्यक्रम र बजेट कार्यक्रम तर्जूृमा एवं कार्यान्वयन उपसमितिले तयार गरी का. का. स.मा पेश गर्नेछ।
ञ) का. का. स.को संयूक्त वा वहुसांखिक अधिकारी (६ वा ६ भन्दा बढी) बाट राजिनामा भै वा दैवी घटना भै संकटकालिन अवस्था पर्न आएमा साधारण सदस्यहरु मध्येबाट अर्को सूचना नहुन्जेल एक का. का. स. गठन गरी कार्य संचालन गराउने छ र यस्ता अन्तरिम का. का. स. ६ महिना भित्रै अर्को चुनाव गराउनु पर्ने छ।
ट) सोसाईटीको विधानको धारा ७ को (क) बमोजिम प्रमाणित लेखा परिक्षक नियूक्ति गर्दा निजको पारिश्रमिक का. का. स. ले निश्चित गर्ने छ।
धारा १४ आर्थिक नियमः
क) का. का. स. लाई पारित बजेट अनुसार खर्च गर्न पूर्ण अधिकार रहने छ।
ख) का. का. स. लाई आकस्मिक खर्च गर्नु परेमा बजेटको बीस प्रतिशत सम्म खर्च गर्न सक्ने अधिकार रहने छ।
ग) एक पटकमा अध्यक्षले रु. ३,००० मा नबढाई वर्ष भरिमा पटक पटक गरी रु. १०,००० सम्म खर्च गर्न सक्ने छ ।
घ) एक पटकमा महासचिलले रु. १,००० मा नबढाई बर्ष भरिमा पटक पटक गरी रु. ५,००० सम्म खर्च गर्न सक्ने छ र अध्यक्षबाट अनुमोदन गराउनु पर्नेछ।
ङ) सोसाईटीको नाममा बैंकमा रहेको खाताको संचालन अध्यक्ष वा महासचिव मध्ये एकजनाको र कोषाध्यक्षको संयूक्त हस्ताक्षरबाट चल्ने छ। कोषाध्यक्षको हस्ताक्षरअनिवार्य हुनेछ।
च) महासचिवको लिखित आदेशानुसार कोषाध्यक्षले सारा बिल भुक्तानी दिने छ।
छ) सोसाईटीको वार्षिक बजेट का. का. स. ले साधारण सभा बस्नु एक महिना अगावै सदस्यहरुकहाँ पठाईने छ तर साधारण सभा हुन नसकेमा हुलाकद्धारा फागुनको प्रथम हप्ताह भित्र सदस्य कहाँ पठाईने छ।
ज) सोसाईटीको नाममा आम्दानी भएको रकम बैंकमा रहेको सोसाईटीको खातामा (तीन) ३ दिन भित्र जम्मा गरी हाल्नु पर्नेछ ।
झ) दैनिक खर्चको निमित्त रु. ५,००० सम्मको खर्च रकम राख्न सकिने छ ।
धारा १५ चुनावः
क) का. का. स को चुनाव हुनु भन्दा कमसेकम तीन महिना अगावै चुनाव अधिकारीको मनोनयन का. का. स. ले गर्ने छ र का. का. स. ले साधारण सदस्यहरुबाट एक तीन सदस्यीय चुनाव आयोग गठन गर्नेछ। मनोनित चुनाव अधिकारी का. का. स. को सदस्य पनि हुन पाउने छैन।
ख) का. का. स. को चुनाव साधारण सभामा वा हुलाक मतहरु वा दुवै तरिकाद्धारा सम्पन्न गराईने छ ।
ग) का.का. स. को चुनाव गुप्त मतद्धारा गरिने छ। प्रतिनिधि पठाएर मतदान दिन पाईने छैन।
घ) चुनाव सम्पन्न भएको लिखित प्रतिवेदन तथा सम्बन्धित कागजात चुनाव अधिकारीले साविक का. का. स. को महासचिवलाई दिनु पर्नेछ तथा चुनाव अधिकारी र साबिक का. का. स. को राय बमोजिम चुनिएका नयाँ का. का. स.लाई कार्य भार सुम्पिने मिति तोक्नेछ। साबिक का. का. स. को म्याद भुक्तान भएको १५ दिन भित्र नयाँ चुनिएका का. का. स. लाई कार्यभार सुम्पिइनु पर्ने छ र सो नहुन्जेल साविक का. का. स. ले नै समितिको कार्य सम्पादन गर्नेछ।
ङ) चुनिएका नयाँ का. का. स. का अधिकारीहरुलाई विविध लिखित शपथ ग्रहण गराई कार्यभार सुम्पिईने छ। उक्त शपथ ग्रहणको कार्य चुनाव अधिकारीले सम्पन्न गराउने छ। सो सम्पन्न भएपछि चुनाव अधिकारीको कार्यविधि स्वतः समाप्त हुने छ।
च) हुलाकद्धारा हुने मतदानमा मतदाताले आफ्नो मत पत्र चुनाव अधिकारी छेउ रजिष्टर गरी पठाउनु पर्ने छ।
छ) चुनाव अधिकारीले चुनाव सम्पन्न गराउन सहयोगको लागि केही व्यक्तिहरुको आवश्यकता ठानेमा निर्वाचनमा खडा भएका सदस्य बाहेक निजले पत्याएको कुनै व्यक्तिलाई निजले लिखित रुपमा नियूक्ति गर्न सक्ने छ।
ज) निर्वाचन गराउन विधानमा उल्लेखित नियमहरुको परिधिमा नपरेको कृयाकलाप र समस्याहरुको समाधानको लागि निर्वाचन अधिकारीले आफ्नो स्वविवेकले प्रयोग गर्ने छ र निजको निर्णय अन्तिम हुनेछ।
झ) चुनाव अधिकारीले चुनाव सम्पन्न गराएकोमा चुनाव लड्ने उम्मेदवारहरुको चुनाव सम्बन्धी कुनै शिकायत भए चुनाव आयोगमा लिखित आवेदन दिन सक्नेछ र सो चुनाव आयोगले आवेदन पाएको तीन दिन भित्रै निर्णय दिने छ र सो निर्णय अन्तिम हुने छ।
ञ) चुनावमा प्रयोग गरिने मनोनयन पत्र, मतदान पत्र तथा शपथ ग्रहणको अधिकृत र नमुना क्रमशः अनुसूची १,२, र ३ बमोजिम हुने छ।
ट) का. का. स. को चुनावमा कुनै पनि पदको मनोनयन पत्रमा सोसाईटीको विधान बमोजिम मत दिन पाउने सदस्यहरु मध्येबाट एक जना प्रस्तावक र कमसेकम एक जना समर्थक हुनु पर्नेछ।
धारा १६ धनमालको स्वामित्वः
सोसाईटीको नाममा खरिद भएको वा अन्य श्रोतबाट प्राप्त भएको ज्यथा सम्पत्तिको पुरा स्वामित्व सोसाईटीको हुने छ। अतः यस्ता धनमाल बिक्री अथवा भाडामा दिने हक यसै सोसाईटीमा निहित रहनेछ। यस्ता कार्यको प्रतिवेदन का. का. स.ले साधारण सभामा पेश गर्नु पर्ने छ।
धारा १७ विधान संसोधनः
क) विधानमा संसोधन गर्नु पर्ने आवश्यक देखिएमा का. का. स. को निर्णय बमोजिम विधान संसोधन उपसमिति गठन गरी सो उपसमितिले दिएको सुझावलाई का. का. स. ले विश्लेषणत्मक अध्ययन गरी उक्त सुझाव उचित ठहर्याएमा आवश्यकता बमोजिम कुनै बुंदाहरुमा थपघट गर्नु पर्ने भए सो समेत गरी सोसाईटीको सबै साधारण सभामा विधान संसोधन प्रस्ताव पेश गर्नेछ। साधारण सभाको दुई तिहाई बहुमतले साँसोधन पारित गर्न सक्नेछ।
ख) विधानको कुनै धारा उपधाराहरुमा परिवर्तन/ खारेजी समेत गर्नु पर्ने भएमा सोसाईटीको एक तिहाई सदस्यहरुले महासचिवलाई लिखित सुझाव दिनु पर्नेछ । यस्ता सुझाव साधारण सभामा पेश हुँदा दुई तिहाई मतद्धारा निर्णय गराईने छ। यस्तो संसोधन गर्ने सुझाव साधारण सभा हुनु भन्दा एक महिना अगावै महासचिव कहाँ पुगिसक्नु पर्नेछ।
धारा १८ तदर्थ समिति
क) नेपाल फिसरिज सोसाईटी स्थापना भएको एक वर्ष भित्र सोसाईटीको राष्ट्रिय कार्यकारिणी सभाका पदाधिकारीहरुको चुनाव गराई सक्नु पर्ने छ। राष्ट्रिय कार्यकारिणी सभाको चुनाव नहुन्जेल धारा ६ को उपधारा (क) अनुसारका पदाधिकारीहरु रहेको एउटा तदर्थ समिति गठन गर्न सकिने छ। उक्त समितिको अधिकार एवं कर्तव्य निर्वाचित का. का. स. को अनुसार हुने छ।
ख) तदर्थ समितिले एक वर्ष भित्र चुनाव सम्पन्न गराएर निर्वाचित का. का. स.लाई कार्यभार हस्तान्तरण गर्नेछ।
धारा १९ सोसाईटीको विघटन
यस सोसाईटीको सम्पूर्ण आजीवन र साधारण सदस्य संख्याको तीन चौथाईको बहुमतको निर्णयले विघटन गर्न सक्ने छ। उक्त अवस्थामा यस सोसाईटीको चल अचल सम्पूर्ण सम्पत्ति जाय जेथा नेपाल सरकारको हुनेछ।
अनुसूची (१)
नेपाल फिसरिज सोसाईटीको कार्यकारिणी सभाको अधिकारीहरुको चुनावको लागि
नेपाल कृषि समितिको कार्यकारिणी सभाको चुनावमा ...............................पदको लागि म श्रीमान/ श्रीमती/ सुश्री ......................................................................... को नाम प्रस्ताव गर्दछु ।
उम्मेदवारको सहीः प्रस्तावकको सही
नामः नामः
ठेगानाः ठेगानाः
१. समर्थकको सहीः २.समर्थकको सहीः ३.समर्थकको सहीः
नामः नामः नामः
ठेगानाः ठेगानाः ठेगानाः
मिति मिति मिति
नोटः १. मनोनयन पत्र नेपालीमै गरिनु पर्दछ र विधानमा उल्लेखित पदको नाम नै लेखिनु पर्दछ ।
२. कुनै साधारण सदस्यले एक पदको लागि एक ब्यक्तिलाई मात्र प्रस्ताव वा समर्थन गर्न सक्ने छ ।
अनुसूची (२)
नेपाल फिसरिज सोसाईटीको कार्यकारिणी सभाको अधिकारीहरुको लागि हुने चुनावको
मतदान पत्र
| सि.नं. | उम्मेदवारको नाम | पद | मत दिने खण्ड |
| १. २. |
अध्यक्ष ,, |
||
| १. २. |
उपाध्यक्ष ,, |
||
| १. २. |
महासचिव ,, |
||
| १. २. |
सचिव ,, |
||
| १. २. |
कोषाध्यक्ष ,, |
||
| १. २. ३. ४. ५. ६. |
सदस्य ,, ,, ,, ,, ,, |
ध्यानमा राख्नु पर्ने अत्यन्त आवश्यक कुराहरू:
१. आफ्नो मतदाताले कुनै पदको लागि चाहिएको संख्या भन्दा बढी मत दिन पाउदैन तर आफूलाई चाहिएमा चाहिएको संख्या भन्दा कम पनि दिन सकिने छ।
२. मत जुन उम्मेदवारलाई दिने हो त्यसको नामको सामुन्ने खाली खण्ड भित्र चिन्ह लगाई दिनु पर्छ र सो सो चिन्ह कोष्ठ बाहिर जानु हुदैन अन्यथा उक्त व्यक्तिको नामको मत मान्य हुने छैन।
३. मतदान पत्रमा मत चिन्ह वाहेक अरु कुनै चिन्ह लेखेको हुनु हुदैन अन्यथा उक्त मतदान पत्र मान्य हुने छैन।
अनुसूची (३)
नेपाल फिसरिज सोसाईटीको कार्यकारिणी सभाको अधिकारीद्धारा गरिने
शपथ ग्रहण
म.....................................ले नेपाल फिसरिज सोसाईटीको कार्यकारिणी सभाको.......................................पदको शपथ ग्रहण अन्तरगत रही आफ्नो पदको अभिभारा आफ्नो बुद्धि विवेक र क्षमताले भ्याए सम्म नेपाल फिसरिज सोसाईटीको विकास तथा प्रवर्धनको लागि सतत प्रयत्नशिल रहने छु ।
चुनाव अधिकारीको सहीः अधिकारीको सहीः
अनुसूची (४)
नेपाल फिसरिज सोसाईटी किस्ता बन्दीमा आजीवन सदस्य बन्ने आकृति फाराम
म.............................................. नेपाल फिसरिज सोसाईटीमा रु. ५००० तिरी आजीवन सदस्य बन्न इच्छुक छु । यो शुल्क म .............................किस्ता बन्दीमा रु. १००० को दरले पाँच वर्ष भित्रमा बुझाउने छु । सो अवधि भित्र नबुझाएमा आजीवन सदस्यताबाट वंचित हुने र बुझाईसकेको शुल्क सोसाईटिको ज्यथा हुने कुरा मलाई ज्ञान छ ।
आवेदकको सही
पुरा नामः
ठेगानाः
मितिः
अनुसूची (५)
नेपाल फिसरिज सोसाईटीको मानार्थ सदस्यमा मनोनयनको लागि फिसरिज सोसाईटीका तीन जना सदस्यले भर्नु पर्ने फाराम
म...................................... नेपाल फिसरिज सोसाईटीको साधारण सदस्यको हैसियतले श्री...................................................लाई उहाँले मत्स्य विकास, जलचर विविधता र जलीय वातावरणको क्षेत्रमा योगदान लाई दृष्टिगत गरी उहाँलाई नेपाल फिसरिज सोसाईटीको मानार्थ सदस्यता प्रदान गर्नको लागि सोसाईटीको प्रचलित मूल्यांकन प्रकृया अनुसार हुन सिफारिश साथ अनुरोध गर्दछु ।
१.
२.
३.
नेफीस विधान
नेफीस विधान डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस।

